

पुस ५ गते ,धनगढी: शारदा माध्यमिक विद्यालय मुडभरा, डोटीका पूर्व विद्यार्थीहरूको आयोजनामा धनगढीस्थित जाकोर तालमा पुनर्मिलन तथा वनभोज कार्यक्रम गरिएको छ ।
लामो समयदेखि छुट्टाछुट्टै स्थान र पेसामा आबद्ध पूर्व विद्यार्थीहरूलाई एकै ठाउँमा भेला गराउने उद्देश्यले शनिवार उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा व्यस्तताका कारण उपस्थित हुन नसकेका अन्य पूर्व विद्यार्थी, शिक्षक , संस्थापक, चन्दादाता र सहयोगीहरूलाई सहभागी गराई पटक पटक यस्ता भेला आयोजना गर्दा सम्बन्ध नवीकरण हुनुका साथै नवीनतम कार्यको लागि समेत फलदायी हुने सहभागीहरूले बताएका थिए ।
शिक्षा, स्वास्थ्य, व्यवसाय, सरकारी सेवा, सामाजिक क्षेत्र तथा वैदेशिक रोजगारी लगायतका क्षेत्रमा कार्यरत पूर्व विद्यार्थीहरू कार्यक्रममा सहभागी हुँदा आपसी आत्मीयता र मित्रता सुदृढ बनाएको सहभागीको भनाई छ।
उपस्थित सबै सहभागीहरूले आफू विद्यालयमा हुँदाका पुराना यादहरूको पुनर्ताजगी गरेका थिए । विद्यालयमा रहँदाका बेला भएका महत्त्वपूर्ण क्रियाकलाप, आफूहरू सहभागी भएका शैक्षिक सुधारका कार्यक्रम र सेवामा निरन्तर, सेवा निवृत्त तथा स्वर्गीय शिक्षकको सम्झना तथा उहाँहरू प्रति कृतज्ञता ज्ञापन समेत उक्त कार्यक्रम गरिएको थियो ।
उक्त कार्यक्रममा सेवा निवृत्त मध्यका शिक्षक ठेक राज जोशी र कृष्ण प्रसाद भट्टलाई फूल माला र दोसल्लाले सम्मान समेत गरिएको थियो ।

कार्यक्रमको समन्वय विद्यालयका पूर्व विद्यार्थी तथा हाल अस्ट्रेलियामा बसोबास गर्दै आउनु भएका लक्ष्मी जोशीले गरेका थिए ।
जोशीको सक्रिय पहल र समन्वयमा सम्भव भएकोले कार्यक्रमका सहभागीहरूले विद्यालय जीवनका सम्झनाहरू साझा गर्दै शिक्षक–शिक्षिकाप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

कार्यक्रममा शारदा मा.बी र त्यसका वरपरका अन्य आधारभूत स्कुलको शैक्षिक विकासका लागि पूर्व विद्यार्थीले योजनाबद्ध तरिकाले योगदान गर्ने बारे छलफल गरिएको जोशीले बताए ।
भेलाको क्रममा विद्यालय सँग सरोकार राख्ने पूर्व विद्यार्थी, शिक्षक तथा सामाजसेवीलाइ विद्यालय सँग जोड्नका लागि के के गर्न सकिन्छ भन्ने बारेमा समेत छलफल गरिएको उनले बताए ।
भेलाले पूर्व विद्यार्थीहरूलाई सङ्गठित गर्दै एक एलुम्नाई (पूर्व विद्यार्थी संघ) गठन गरिएको छ । उक्त भेलाले एलुम्नाई अन्तर्गत हेमराज जोशीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ । एलुम्नाईले तत्काल औपचारिक संस्था दर्ता गरी नयाँ कार्यकारी समिति गठन गर्ने र स्वदेश तथा विदेशमा रहेका सदस्यलाई सङ्गठित गरी शाखा विस्तारित गर्ने जिम्मेवारी भेलाले तदर्थ समितिलाई प्रदान गरेको छ ।
नवगठित समितिका संयोजक हेमराज जोशीले आगामी दिनमा शारदा मा.बी लाई लिडर तथा त्यसका वरपर रहेका अन्य विद्यालयलाई फिडर विद्यालयको रूपमा शैक्षिक विकास, विद्यार्थी सहयोग, सामाजिक कार्य तथा यस्ता पुनर्मिलन कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । साथै, विदेश तथा स्वदेशमा रहेका सम्पूर्ण पूर्व विद्यार्थीहरूलाई एकजुट गराई संस्थागत रूपमा अघि बढ्ने र स्थानीय विद्यालयमै यस्ता भेला गराई विद्यालयको समग्र विकासको योजना बनाइ स्थानीय सरकार तथा सरोकारवालाको सहयोगी हातका रूपमा काम गर्ने बताए ।
कार्यक्रममा सहभागीहरूले सामूहिक भोजन, मनोरञ्जनात्मक गतिविधि, फोटो सेसन तथा आपसी छलफल मार्फत दिनभरि खुसी र उत्साहपूर्ण वातावरण सिर्जना गरेका थिए । प्राकृतिक सौन्दर्यले भरिपूर्ण जाकोर तालको वातावरणले कार्यक्रमलाई अझ स्मरणीय बनाएको सहभागीहरूको भनाइ थियो।
पूर्व विद्यार्थीहरूले आपसी सम्बन्धलाई अझ मजबुत बनाउँदै शारदा मा.वि., मुडभराको उन्नति र समाज सेवामा योगदान पुर्याउने संकल्प समेत गरेका छन् ।
कार्यक्रममा विभिन्न ब्याजका तथा विभिन्न पेसामा आबद्ध पूर्व विद्यार्थीहरूको सहभागिता रहेको थियो ।


