Sujang

हिमाली गाउँपालिकाका तीन वडालाई सडक सञ्जालसँग जोड्ने सडक निर्माणको मुख्यमन्त्रीद्वारा शिलान्यास

Ban
Krishi

मंसिर ८, बाजुरा: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बाजुराको हिमाली गाउँपालिकाका वडा नं. १, २ र ३ (बिच्छा, कोट र बौडी) लाई सडक सञ्जालसँग जोड्ने महत्वपूर्ण सडक निर्माण कार्यको शिलान्यास गर्नुभएको छ।

आइतबार आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहले अति विकट क्षेत्रमा पर्ने यी तीन वडामा वर्षौंदेखि सडक सुविधा नहुँदा स्थानीयवासीले भोग्दै आएको कष्टलाई अन्त्य गर्ने उद्देश्यले सडक निर्माण सुरु गरिएको बताउनुभयो। झन्डै ६०० घरधुरी प्रभावित रहने यस क्षेत्रमा सडक अभावकै कारण शिक्षा, स्वास्थ्य, खाद्यान्न ढुवानीदेखि दैनिक जीवनसम्म चुनौतीपूर्ण रहँदै आएको थियो।
प्रदेश सरकारले विनियोजन गरेको बजेट अन्तर्गत २ करोड ६९ लाख रुपैयाँमा सडक निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ। सोमध्ये हुम्लाकोट गाउँपालिकाले ५० लाख रुपैयाँ अतिरिक्त विनियोजन गरी सहयोग पुर्‍याएको छ। कर्णाली प्रदेश तर्फ हुम्लाको खडाडिल–पम्पानी हुँदै मैतनासम्मको ७ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ भने मैतनादेखि हिमाली गाउँपालिका–१ गाउँपालिका कार्यालयसम्म ६ किलोमिटर ट्र्याक खोल्ने काम सुरु हुने भएको छ ।
शिलान्यासपछि आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहले तीनै तहका सरकारको समन्वयमा विकास गतिविधि अघि बढ्न थालेको उल्लेख गर्दै यसलाई संघीयताको सकारात्मक अभ्यासको उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो। उहाँले भन्नुभयो — “विकास एकैदिनमा पूरा नहुने भए पनि यी विकट बस्तीसम्म क्रमिक रूपमा पूर्वाधार विस्तार गर्दै लैजाने हाम्रो प्रतिबद्धता हो।”
उहाँले सडकस्तर उन्नतिको साथै स्वास्थ्य, शिक्षा र आधारभूत सेवाका क्षेत्रमा समेत बजेट छुट्याइने विश्वास दिलाउनुभयो।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री नरेश बहादुर शाही, प्रदेशसभा सदस्य जुनादानी, स्थानीय तहका जनप्रतिनिधि तथा ठूलो संख्यामा स्थानीयवासीको उपस्थिति थियो। सडकको शिलान्याससँगै स्थानीयको आँखामा विकासको आशा र खुसी झल्किएको देखिन्थ्यो। शिलान्यास गर्न पुग्नुभएका मुख्यमन्त्री शाहलाई स्थानीयवासीले फुलमाला बाजागाजा सहित भव्य स्वागत गरेका थिए।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.