Sujang

शिक्षिका जानकी खड्का मृत्यु प्रकरण : महिला अधिकारकर्मीहरूको न्यायको माग

Ban

डोटी, १८ कात्तिक : डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ तल्लो फुलौटकी २७ वर्षीया जानकी खड्काको आत्महत्या दुरुत्साहन प्रकरणमा दोषीमाथि कडा कानूनी कारबाही र निष्पक्ष छानबिनको माग गर्दै महिला अधिकारकर्मीहरूले जिल्ला प्रशासन कार्यालय डोटीमा ज्ञापनपत्र बुझाएका छन्।

गत कार्तिक १० गते जानकी खड्का आफ्नै घर नजिकको रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उनले लेखेको सोसाइड नोटमा आफूलाई मृत्यु रोज्न बाध्य पार्ने व्यक्ति शिखर नगरपालिका–११ मल्लिसातका गणेश रावल भएको उल्लेख छ। रावल हाल जिल्ला शिक्षा समन्वय इकाइ डोटीका शिक्षा अधिकृत तथा विद्यालय निरीक्षकको पदमा कार्यरत छन्।

सोसाइड नोटमा रावलले आफूसँग विवाह नगरे मार्ने धम्की दिँदै आएको र त्यसैको मानसिक यातना सहन नसकेर आत्महत्या गर्न बाध्य भएको उल्लेख गरिएको छ। अहिले रावल जिल्ला प्रहरी कार्यालय डोटीको थुनामा रहेका छन् भने प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ।

महिला अधिकारकर्मीहरूको ज्ञापनपत्र र माग

महिलाका हकहितमा काम गर्दै आएका विभिन्न संस्थाका महिला अधिकारकर्मीहरूले संयुक्तरूपमा बुझाएको ज्ञापनपत्रमा तलका मागहरू राखिएका छन्—
-उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गर्नुपर्छ।-दोषीमाथि कानुनी कारबाही सुनिश्चित गर्नुपर्छ।
-पीडित परिवारलाई मानसिक र कानुनी सहयोग उपलब्ध गराउनुपर्छ।
-राजनीतिक वा आर्थिक दबाब बिना न्याय सुनिश्चित गर्नुपर्छ।

Krishi

अधिकारकर्मीहरूको भनाइ

महिला अधिकारकर्मी लता जोशीले भनिन्,

“जानकी खड्काको मृत्यु केवल एउटा महिलाको कथा होइन, यो समाजमा मौन पीडाको प्रतीक हो। जबसम्म उनी न्याय पाउँदिनन्, हाम्रो संघर्ष जारी रहन्छ।”

फेडो संस्थाकी अध्यक्ष सरिता दियालले भनिन्,
“सोसाइड नोटमै स्पष्ट छ—उनी आत्महत्या गर्न बाध्य पारिइन्। यदि यस मुद्दालाई तोडमोड गर्ने प्रयास भयो भने हाम्रो न्याय प्रणालीप्रति समाजको विश्वास हराउनेछ। दोषीमाथि कानुनले तोके बमोजिम कारबाही हुनैपर्छ।”

जिल्ला प्रशासन कार्यालय डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी भोज बहादुर ऐडीले अधिकारकर्मीहरूबाट प्राप्त ज्ञापनपत्र ग्रहण गर्दै भने,“यो प्रकरणमा निष्पक्ष छानबिन हुनेछ। आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ र जानकी खड्कालाई न्याय दिलाउन प्रशासन प्रतिबद्ध छ।”

ज्ञापनपत्र बुझाउने कार्यक्रममा महिला अधिकारकर्मीहरू, पत्रकारहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.