

कार्तिक १३ गते, डोटी:बसको ठक्करबाट मारिएका प्रहरी जवान शंकर बलायरको परिवारलाई आर्थिक सहयोग गरिएको छ । देशका विभिन्न ठाउँमा कार्यरत प्रहरीहरुबाट सङ्कलित नगद एक लाख ४३ हजार रुपैयाँ बुधबार हस्तान्तरण गरिएको हो ।

बैतडी घर भई हाल जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत प्रहरी जवान जयन्त भाट लगाएतका प्रहरीहरुले मृतक बलायरकी धर्मपत्नी पार्वती कठायत बलायरलाई घरमै पुगेर नगद हस्तान्तरण गरेका हुन् ।
प्रहरी जवान भाटले सञ्चालन गरेको सहयोग अभियानबाट उक्त रकम संकलन भएको थियो । भाटले यस अघि पनि समस्यामा परेका, निधन भएका, पीडित प्रहरी परिवारका लागि रकम संकलन गरेर हस्तान्तरण गर्दै आएका थिए ।
शिखर नगरपालिका – ८ तिलताली घर भई हाल जिल्ला ट्राफीक प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी जवान शंकर बलायर दशैंको भोलिपल्ट (असोज १७ गते) मध्यराति १२: १५ बजेको समयमा मृत भेटिएका थिए । उनको बसको ठक्करबाट मृत्यु भएको थियो । ठक्कर दिएर बससहित फरार रहेका बस चालक बाजुराको गौमुल गाउँपालिका – २ मल्दुकुनका ३३ वर्षीय गणेश धामीलाई प्रहरीले पक्राउ गरेर आबस्यक कारबाही गरिरहेको छ ।

