Sujang

डोटीमा २ हजारभन्दा बढी सवारी कारबाहीमा, २० लाखभन्दा बढी राजस्व संकलन

Ban

डोटी, साउन १० : जिल्ला प्रहरी कार्यालय डोटीले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक शान्ति–सुरक्षा, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा विपद् उद्धारसम्बन्धी विवरण सार्वजनिक गरेको छ। सार्वजनिक तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा जिल्लाभर ९६ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन् भने ६० जना अभियुक्त पक्राउ परेका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा मुद्दा दर्ता संख्या घटेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ज्यान मार्ने उद्योगको १, भवितव्य ज्यानका ११ र फुटकर ज्यानका ७ मुद्दा दर्ता भएका छन्। आत्महत्याका २८ घटनामध्ये २५ जनाले झुन्डिएर र ३ जनाले विष सेवन गरी ज्यान गुमाएका छन्। आत्महत्या दुरुत्साहनका ४ मुद्दामा ४ जना पक्राउ परेका छन्।

लागुऔषधका ४ मुद्दामा ७ जना पक्राउ परेका छन्। यस क्रममा ११.२० ग्राम खैरो हिरोइन र २.१८ ग्राम चरेस बरामद गरिएको छ। हातहतियारसम्बन्धी ३ मुद्दामा ७ जना पक्राउ परेका छन् भने ५ थान अवैध भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।
महिला तथा यौनजन्य अपराधतर्फ जबरजस्ती करणीका ७, करणी उद्योगको १, बाल यौन दुरुपयोगका २ तथा बहुविवाहका ५ मुद्दा दर्ता भएका छन्। ती सबै मुद्दाका अभियुक्त पक्राउ परिसकेका छन्। साथै सवारी ज्यान, बैंकिङ कसुर, डाँका–चोरी, अभद्र व्यवहार तथा ठगीसम्बन्धी विभिन्न मुद्दामा पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Krishi

फैसला कार्यान्वयनतर्फ १८ जना फरार प्रतिवादीलाई पक्राउ गरी २३ वर्ष ६ महिना ६ दिन कैद सजाय कार्यान्वयन गराइएको छ। साथै रु. ४३ लाख ७५ हजार १८० जरिवाना असुल गरिएको छ। अवैध नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका ३ वटा ट्र्याक्टरलाई कारबाही गर्दै रु. ४५ हजार जरिवाना गरिएको छ। वर्षभर परेका ७३२ वटै ठाडो निवेदन फर्छ्योट गरिएको प्रहरीले जनाएको छ।
ट्राफिक व्यवस्थापनतर्फ २ हजार २०७ वटा सवारीसाधन कारबाहीमा परेका छन्। ती कारबाहीबाट रु. २० लाख ३४ हजार राजस्व संकलन भएको छ। मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ५४ जनालाई कारबाही गरी रु. २८ हजार ५०० राजस्व संकलन गरिएको छ भने लागू पदार्थ सेवन (लापसे) परीक्षण ४४ जनामा गरिएकोमा ३ जनामाथि कारबाही गरिएको छ।

गत आर्थिक वर्षमा जिल्लामा ६१ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ११६ जना घाइते भएका छन्। घाइतेमध्ये ३१ जनाको अवस्था गम्भीर र ८५ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

विपद्का घटनामा पहिरो, बाढी, आगलागी, चट्याङ, डुबान, सर्पदंश तथा जंगली जनावरको आक्रमणबाट मानवीय, पशुचौपाया तथा कृषि क्षेत्रमा क्षति पुगेको छ। पहिरोका कारण १४२ रोपनी खेतबारी, १५० मिटर सिँचाइ कुलो र २३० मिटर खानेपानी पाइपमा क्षति पुगेको छ। साथै सेती नदी र सायल गाउँपालिका–१ को टेडी खोलामा फसेका ४४ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो।

महिला तथा बालबालिका अपराधअन्तर्गत १८ वटा मुद्दा दर्ता भई सबै अभियुक्त पक्राउ परेका छन्। हराएका अधिकांश महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई प्रहरीले फेला पारेको छ भने घरेलु हिंसा, लैङ्गिक हिंसा तथा दलित सहायता कक्षमा परेका अधिकांश निवेदन मिलापत्रमार्फत टुङ्ग्याइएको जनाएको छ।

यस्तै, जिल्ला प्रहरी कार्यालय डोटी र मातहतका २१ प्रहरी एकाइले आर्थिक वर्षभर ८३९ वटा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेका छन्। ती कार्यक्रमबाट २३ हजार ५९८ जना नागरिक लाभान्वित भएका छन्। प्रहरीले आगामी दिनमा अपराध नियन्त्रण, नागरिक सुरक्षा तथा समुदायसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.