


असार ९, डोटी : सामुदायिक विकास केन्द्र (सि.डि.सि.) को आयोजनामा शिखर नगरपालिकामा सोमबार नगरस्तरीय शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
कार्यक्रममा शिखर नगरपालिकाका १४ वटा माध्यमिक विद्यालय र ४ वटा निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वडा अध्यक्ष तथा बाल क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यशालामा स्रोत व्यक्ति शेरबहादुर कार्कीले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा गुणस्तरीय तथा समावेशी शिक्षा, गुनासो सुनुवाइ प्रणाली, विद्यालयको आर्थिक तथा प्रशासनिक व्यवस्थापन, नगरपालिकाबाट गरिएको विद्यालय अनुगमनका क्रममा देखिएका सुधारका पक्ष तथा सुधारका लागि गरिएका सिफारिसबारे विस्तृत छलफल गरिएको थियो।
त्यसैगरी विद्यालयको सरसफाइ तथा स्वच्छता, व्यक्तिगत सरसफाइ, शौचालयको प्रयोग, खानेपानीको उपलब्धता, शिक्षक निर्देशिकाको प्रयोग, वार्षिक कार्ययोजना, वार्षिक शैक्षिक योजना, विद्यालय सुधार कार्ययोजना, कक्षाकोठा व्यवस्थापन, कार्यालय अभिलेख व्यवस्थापन, धुलोरहित कक्षाकोठा तथा शैक्षिक सामग्रीको प्रयोग लगायतका विषयमा समेत छलफल भएको थियो।
स्रोत व्यक्ति शेरबहादुर कार्कीले नगरपालिकाले सबै विद्यालयमा गरेको अनुगमनका क्रममा केही विद्यालयले राम्रो प्रगति गरेको भए पनि केही विद्यालयमा अझै सुधार आवश्यक रहेको बताउनुभयो। उहाँले अनुगमन प्रतिवेदन तथा सिफारिसअनुसार सबै विद्यालयलाई आगामी पुसभित्र सुधारका लागि समयसीमा दिइएको र तोकिएको अवधिसम्म सुधार नभए कार्यसम्पादन मूल्यांकन तथा म्याद थपमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने जानकारी दिनुभयो।
कार्यक्रममा राधाकृष्ण माध्यमिक विद्यालय गोपघाटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर बलायरले शिक्षा क्षेत्रमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सामूहिक प्रयासबाट अपेक्षित उपलब्धि हासिल गर्न सकिने बताउनुभयो।
लाटामाण्डौं माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश भट्टले शिक्षामा राजनीति नगरी सबैलाई समान व्यवहारका साथ कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा सबै पक्षको सहयोग अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।
शिखर नगरपालिकाका नगर प्रमुख दीर्घबहादुर बलायरले नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेको, दरबन्दी मिलानमार्फत शिक्षक व्यवस्थापन सुधार गरेको तथा विगतको तुलनामा शैक्षिक नतिजामा सकारात्मक सुधार आएको बताउनुभयो। उहाँले विद्यालय व्यवस्थापन समितिमा युवा, दक्ष तथा महिला प्रतिनिधित्व बढ्दै गएको, एकीकृत पोशाकको व्यवस्था गरिएको र पालिकास्तरीय परीक्षा सञ्चालन हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा सबैले नयाँ उत्साह र प्रतिबद्धतासहित काम गर्नुपर्नेमा जोड दिनुभयो।
सामुदायिक विकास केन्द्र (सि.डि.सि.) का अध्यक्ष निर्मला रोस्याराले संस्थाले केही समयसम्म सरकारलाई सहयोग गरिरहेको बताउँदै नगर, वडा तथा समुदायले अपनत्व ग्रहण गरी शिक्षामा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो।
कार्यशालामा कुल ५२ जनाको सहभागिता रहेको थियो।
सि.डि.सि. डोटी र लुथरन वर्ल्ड फेडेरेसन नेपालको साझेदारीमा सञ्चालित ‘सक्षम परियोजना’ तथा सि.डि.सि. डोटी र गुड नेवर्स इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित ‘एकीकृत सामुदायिक विकास परियोजना’ अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो। परियोजना अधिकृत लक्ष्मणबहादुर देउवाका अनुसार स्थानीय शिक्षा सम्बन्धी मुद्दा, चुनौती र अवसरहरूको पहिचान तथा विश्लेषण, अभिभावकको अर्थपूर्ण सहभागिता तथा बालमैत्री एवं गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि नवीन सुझाव संकलन गर्ने उद्देश्यले शैक्षिक बहसका रूपमा कार्यशाला गोष्ठी आयोजना गरिएको हो।

