

जेठ २२, डोटी : सिलगढीमा सञ्चालन भएको दोस्रो मेयर कप भलिबल प्रतियोगिताको उपाधि दिपायल सिलगढी नगरपालिका वडा नं. ३ ले जितेको छ।
दिपायल सिलगढी नगरपालिकाको आयोजनामा सिलगढीस्थित टुँडिखेल खेलमैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा वडा नं. ३ विजेता बनेको हो। प्रतियोगितामा वडा नं. ७ दोस्रो तथा वडा नं. ४ तेस्रो स्थान हासिल गर्न सफल भएको छ।

प्रतियोगितामा प्रथम हुने टोलीले रु. ५१ हजार १११, द्वितीय हुने टोलीले रु. ३० हजार १११ तथा तृतीय हुने टोलीले रु. २० हजार १११ नगद पुरस्कार प्राप्त गरेका छन्।
विजेता टोलीहरूलाई नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र समेत प्रदान गरिएको थियो।
खेलकुदको विकास, नेतृत्व क्षमता अभिवृद्धि, स्वस्थ प्रतिस्पर्धाको प्रवर्द्धन तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित नगरस्तरीय प्रतियोगितामा नगरपालिकाका ९ वटा वडाका ९ टोलीको सहभागिता रहेको थियो।
समापन कार्यक्रममा बोल्दै नगर प्रमुख बाजी सिंह खड्काले खेलकुद क्षेत्रको विकासका लागि आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिइने बताए।
कार्यक्रममा उप प्रमुख कलावती महरा साउँद, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, प्रहरी उपरीक्षक सागर बोहरा, वडा अध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, पत्रकार, खेलप्रेमी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
समापन समारोहमा खेलकुद क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो।

