गणेश मौनी ,कात्तिक ५, डोटी –सुदूरपश्चिम प्रदेश अन्तर्गत डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाको संगमस्थलमा रहेको खप्तड राष्ट्रिय निकुञ्जमा बर्सेनि पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । आर्थिक वर्ष २०७६/७७ देखी आर्थिक वर्ष २०७८/७९ सम्मको तथ्याङ्क अनुसार धार्मिक प्रयोजन भन्दा बाहेकका पर्यटकको सङ्ख्यामा वृद्धि भएको खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय बाजुराका सूचना अधिकारी रेन्जर ज्ञानेन्द्र बहादुर शाहले बताए ।
सूचना अधिकारी शाहका अनुसार आर्थिक वर्ष २०७६/७७ मा जम्मा ७ सय ४६ जनाले खप्तड भ्रमण गरेको देखिन्छ । जस अनुसार ७ सय ३० जना स्वदेशी र ५ जना विदेशी रहेका छन् । त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा १ हजार ६ सय ८८ जनाले खप्तड भ्रमण गरेको पाइन्छ । जस अनुसार १ हजार ६ सय ८५ जना स्वदेशी र ३ जना विदेशी रहेका छन् । त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा उक्त सङ्ख्या बढेर खप्तड भ्रमण गर्नेको सङ्ख्या २ हजार २ सय ९ जना पुगेको देखिन्छ । जस अनुसार स्वदेशी २ हजार १ सय ८७ जना रहेका छन् भने अन्य सार्क मुलुकका विदेशीहरू ३ जना र अन्य मुलुकका १९ विदेशीहरूले भ्रमण गरेको पाइन्छ ।
पर्यटक वृद्धिका साथै आन्तरिक आयमा वृद्धि भइरहेको समेत सूचना अधिकारी शाहले जानकारी दिएका छन्। उनका अनुसार रोयल्टी, पर्यटन शुल्क, बन पैदावार बिक्री वितरण, दण्ड सजाए बापतको रकम बर्सेनि वृद्धि भइरहेको देखिन्छ । सूचना अधिकारी शाहका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ४ लाख ३७ हजार ४ सय २५ रुपैयाँ आम्दानी भएको बताए । त्यस्तै गरी आर्थिक वर्ष २०७७/७८ मा ६ लाख २२ हजार ५ सय ३ र आर्थिक वर्ष २०७८/७९ मा ९ लाख २० हजार ८ सय २९ आम्दानी भएको देखिन्छ ।
खप्तड राष्ट्रिय निकुञ्जमा सल्ला, खसुर र निगालो जातका जगंलहरूका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसे मैदान पनि रहेका छन् । त्यहाँ रतुवा मृग, कस्तुरी मृग, घोरल, चितुवा, जङ्गली कुकुर, जङ्गली बिरालो, रातो बाँदर, लङ्गुर बाँदरका साथै डाँफे, मुनाल जस्ता सुन्दर चराचुरुङ्गीहरू रहने गर्दछन् भने २३ प्रजातिका वन्यजन्तु र २८७ प्रजातिका पंक्षीहरु रहनुका साथै पाँच औले,सतुवा, शिलाजित, पदमचाल, कुरिलो, वन लसुन, चिराइतो, चुत्रो, दाल चिनी, टिमुर लगायतका जडीबुटीहरू पनि पाइने गर्दछ ।
खप्तड राष्ट्रिय निकुञ्ज धार्मिक दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण छ । त्रिवेणी, खप्तड दह, सहस्र लिङ्ग आदि स्थानहरू हिन्दु धर्मावलम्बीहरूका पावन तीर्थस्थल मानिन्छन् । यी स्थानहरूमा यहाँ गङ्गा दशहरा, जनपूर्णिमा जस्ता धार्मिक पर्वमा हजारौँको सङ्ख्यामा तीर्थयात्रीहरू भेला भई मेला भर्ने गर्दछन् । पर्या–पर्यटनको प्रचुर सम्भावना भएको यो क्षेत्र प्रचार प्रसार र अन्य भौतिक सेवा सुविधाको अभावमा पछाडि परेको देखिन्छ ।
खप्तडको विकास र व्यवस्थापकीय पक्ष कमजोर खप्तड राष्ट्रिय निकुञ्जको नाम सुन्दा र हेर्दा खप्तड जति सुन्दर छ त्यस्तै व्यवस्थापकीय पक्ष साहै कमजोर रहेको सरोकारवाला र भ्रमण कर्ताहरू बताउँछन् ।
खप्तडको सुन्दरता जस्तो खप्तडमा व्यवस्थापकीय पाटो राम्रो हुन नसकेको पर्यटन व्यवसाय एवं होटेल व्यवसायी सुदूरपश्चिम महासंका अध्यक्ष दीपक बहादुर खड्काले बताए । उनले भने जस्तो प्रकृतिमा खप्तड सुन्दर छ त्यस्तो व्यवस्थापकीय पाटो राम्रो हुन सकेको छैन दैनिक सय जना भन्दा बढी पर्यटन आउन सक्छन् खप्तडमा गएर के गर्नु ३०, ४० जना भन्दा बढीको लागि बस्ने खाने ठाउँको व्यवस्था छैन, सामान्य २५, ३० हजार रुपैयाँ पर्ने एउटा सोलारको व्यवस्था समेत गर्न सकेको छैन, त्यहाँ आउने जो कोही पर्यटक व्यवस्थापनको असहजताले दोस्रो पटक नआउने भनेर जाने गरेको समेत अध्यक्ष खड्काले बताए । विभिन्न सरकार र खप्तड क्षेत्र पर्यटन विकास समितिले समेत त्यहाँको व्यवस्थापनको पाटोलाई ध्यान दिन नसकेको बेवास्ता गरेको समेत आरोप अगाए ।
पर्यटकीय दृष्टिकोणले खप्तड जति सुन्दर र आकर्षण छ त्यही मात्रामा विकास हुन नसकेको डोटी बहुमुखी क्याम्पस डोटीका सहायक क्याम्पस प्रमुख अर्जुन देउवाले बताए । उनले भने खप्तड पर्यटन क्षेत्र विकास समिति गठन भएको लामो समय भइसक्यो, बर्सेनि करोडौँको बजेट खप्तडको नाममा विनियोजन हुने गर्छ तर हाल हेर्दा खप्तडमा सय, दुई सय जना पर्यटकको लागि खाने बस्ने नहुनु, मोबाइल नेटवर्क, बिधुतीकरण हुन नसक्नु विडम्बना रहेको बताए ।
खप्तड जति सुन्दर प्रकृतिमय छ त्यही मात्रामा विकास गर्न आवश्यक छ । खप्तडको साँच्चै विकास गर्ने हो भने त्यहाँ सहज रूपमा पर्यटकहरू आउन जाने बाटोघाटोको पहुन, पर्यटनको सुरक्षा प्रहरी प्रशासनको उपस्थिति, आवासको सुविधा, पर्यटकहरू पुगीसेकपछी त्यहाँ गर्ने क्रियाकलापहरू ताकी पर्यटन कसरी व्यस्त रहन सक्छन्, बिधुत, नेटवर्कको व्यवस्था लगाएको व्यवस्थापन आवश्यक रहेको समेत सहायक क्याम्पस प्रमुख देउवाले बताए ।
खप्तड राष्ट्रिय निकुञ्जमा व्यवस्थापकीय क्षेत्रमा विकासले गति लिइरहेको खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीम खड्काले बताए । कार्यकारी निर्देशक खड्काका अनुसार खप्तड भ्रमणमा आउने एक सय जना पर्यटकहरूका लागि खान, बस्नको व्यवस्था गर्न सकिने बताए । हाल खप्तडमा नेपाली सेनाको गुल्म हुँदा पर्यटकहरूलाई त्यस्तो साहै समस्या नहुने समेत निर्देशक खड्का बताउँछन् ।
खप्तड राष्ट्रिय निकुञ्जमा थप विकास गर्न निजी क्षेत्रलाई लगानी गर्न अनुमति दिन कार्यविधि आवश्यक रहेको समेत उनले बताए । २०४२ सालमा स्थापना भएको खप्तड राष्ट्रिय निकुञ्ज जुन रूपमा प्राकृतिक सौन्दर्ययताले भरपूर्ण छ सोही मात्रामा त्यस क्षेत्रको विकास हुन नसकेको यस क्षेत्रका विज्ञहरू बताउँछन् ।सुदूरपश्चिम प्रदेशको सुन्दर प्रकृतिमय सम्पत्तिको रूपमा रहेको खप्तडको संरक्षण, प्रचार प्रसार र विकास गर्न सबै निकाएको ध्यान जान आवश्यक देखिन्छ ।