एकेन्द्र चन्द, पुस ७ गते ,डोटी :विगतमा घरायसी प्रयोगका लागि मात्रै आलु खेती गर्दै आएका डोटीका किसान अहिले व्यावसायिक आलु खेती तर्फ आकर्षित भएका छन् । डोटीमा १ हजार ३ सय ६५ हेक्टर जमिनमा हिउँदे आलु खेती हुने गरेको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ ।
चक्लावन्दिमा आलु खेती तथा क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत अहिले जिल्लाको शिखर नगरपालिका, के आई सिंह गाउँपालिका, दिपायल सिलगढी नगरपालिका र आदर्श गाउँपालिका किसानहरूले चक्लावन्दिमा आलु खेती गरिरहेका छन् ।
जिल्लामा लगभग २ सय जनाको हाराहारीमा व्यावसायिक आलु खेती गर्ने किसानको सङ्ख्या रहेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थितले बताए।
शिखर नगरपालिका- १ कफल्लेकी (गुठेउरी)का किसान इन्द्र खत्रीले १५ रोपनी जमिनमा आलु खेती गर्नु भएको छ । गाउँ सम्म पुग्ने सडक निर्माण भएको भएपनी यो वर्ष रोड सफाइको काम नहुँदा आलु लगायत कृषि उपजहरू बजार सम्म पुर्याउन समस्या हुने उनले बताए । पोहोर साल केजीको ४० रुपैयाँ सम्ममा आलु बिक्री गरेको बताउँदै आलु खेती लगायत टमाटर लसुन लगायतको खेती गर्दै आएका छु कृषि गरेर छोरा छोरी लगायत घर खर्च चलाउन सहज भएको उनले बताए ।
हिउँदे आलुमा देखिने रोग किराको लागि निःशुल्क रूपमा विषादी बिउ आलुमा अनुदान यस वर्षबाट नयाँ प्रविधि अन्तर्गत प्लास्टिक मलचिङमा आलु खेती विस्तार र जसले कम पानीमा पनि आलुको उत्पादन बढाउन सकिने लगायत सिचाइमा पनि सघाउने गरेको छौ । यो वर्ष पनि आलुको अवस्था राम्रो रहेको छ । मौसमले साथ दियो भने यस वर्ष हिउँदे आलुको उत्पादन बढ्ने आकलन रहेको प्रमुख अवस्थिले बताए ।
किसानहरूले लसुन खेती पनि गर्दै आएका र धेरै जस्तो झारपातको समस्या हुने गरेको छ। यसलाई रोक्न यस वर्षदेखि नयाँ प्रविधि अन्तर्गत प्लास्टिक मल्चिङमा लसुन खेती गर्ने कार्यक्रम समेत सुरु भएको उनले बताए ।
पछिल्लो समय डोटीमा व्यावसायिक कृषि पेसा गर्नेको सङ्ख्या समेत वृद्धि हुँदै गएको देखिन्छ ।