निर्मल कुमार भण्डारी, साहित्यकार
डोटी राज्य थियो विशाल अघिको – बाईस–चौबीसमा ।
सीमाको अतिक्रम्यता हुनगई – खुम्ची हरायो कहाँ ।।
पूर्वी गण्डक क्षेत्रसम्म उहिले – प्राचीन डोटी थियो ।
गङ्गा भागरथी पवित्र तटको – भू–भाग हाम्रै थियो ।।
।।१।।
उत्तर तिब्बतको सिमातक थियो – दक्षिण सिमा भारत ।
डोटीराज्य विशाल व्यापक थियो – आख्यानले भन्दछ ।।
डोटी हो यस क्षेत्रको विगत कै – आराध्य देवाटवी ।
सोहीको अपभ्रंश शब्द हुन गै – डोटी भएको पछि ।।
।।२।।
डोटीका गिरि–शैल–श्रृङ्गहरुमा – देवात्मको बास छ ।
डोटीका वन–फाँटमा–प्रकृतिमा – सौन्दर्यको राज छ ।।
डोटीका नद–नीर–सम्बहनमा – सङ्गीत आवाज छ ।
डोटेली परिवेशमा सरसिलो – साहित्य आभाष छ ।।
।।३।।
आफ्नै संस्कृति सभ्यता अनि कला – प्राचीनताका सँगै ।
आफ्ना ती परिवेश भेष गतका – संचेतनाका सँगै ।।
आफ्ना प्राक्तन मान्यता सित सधै – तादात्म्य राखी कन ।
डोटी देवटवी सु–संस्कृत छ है – सामान्य छन् जीवन ।।
।।४।।
हाम्रा श्वेत हिमाल दुर्गम चुली – उल्लासका स्रोत छन् ।
हाम्रा रम्य पहाड वृक्ष–वनमा – सौन्दर्य ओत–प्रोत छन् ।।
हाम्रा सम्थर फाँटमा रहरिला – कान्ला–गह्रा–खेत छन् ।
डोटी शब्द र अर्थ भित्र यिनकै – भावार्थ संकेत छन् ।।
।।५।।
नीलो व्योम मुनी सु–सज्जित धरा – मैदान या कन्दरा ।
यी खोला नदले प्रवाहित हुँदा – लाग्छन् सदा सुन्दर ।।
बग्छिन् हैम नदी पवित्र जलले – सेती यहीँ कल्कल ।
डोटी शब्द समेट्छ भाव मनका – सम्भावना उज्ज्वल ।।
।।६।।
बोल्छन् मास वसन्तमा वनचरी – उल्लासमा न्याहुल ।
गर्छन् नित्य अरण्यमा प्रणयका – कल्लोल–कोलाहल ।।
यी अग्ला गिरिश्रृङ्खला शिखरले – थेगी रहेछन् नभ ।
भाषा–संस्कृतिमा–कला–प्रविधिमा – डोटी सदा अग्र छ ।।
।।७।।
डोटीका अधिका कलाकृति सँगै – भाका र पाखा सँगै ।
ड्यौडा–माँगल–चैत–फागहरुका – गाथा कथा छन् सबै ।।
हुड्केली, छलिया, भुवा अनि भडा – भैनी रत्यौली सित ।
डोटी रम्दछ लोक संस्कृति सितै – भै नित्य आल्हादित ।।
।।८।।
ट्याम्को, दाइन, नरसिँगा र सहना – भाना तथा भोक्कर ।
झ्याली–झाँज र गाँज–ढोल–हुडुको – बाजा अनेकौ थर ।।
बज्दामा विधिसाथमा जब यहाँ – यी पञ्चबाजा सबै ।
डोटीको परिवेश त्यै लहरमा – हर्षेर ब्युँझिन्छ है ।।
।।९।।
ड्यौडा खेल र गान मौलिक पना – देखिन्छ डोटी सित ।
डोटेली पन बोल्छ गीत लयका – ती राग–रुन्का सित ।।
ड्यौडा रम्छ त्यहाँ सुदूर छ जहाँ – भाषा कलाको निधि ।
त्यस्तै रम्छ सुदूरपश्चिम जहाँ – बाँच्छन् यिनै संस्कृति
।।१०।।
भाषा–संस्कृतिको समुद्गम थलो – सिञ्जा धरा भन्दछौं ।
कर्णाली र कुमाउको लय सितै – हामी यहाँ रम्दछौं ।।
भाषा–संस्कृति–वाद्य–नृत्यहरुमा – सिञ्जा धरा सभ्य छ ।
डोटीको परिवेश प्रस्तुति सबै – यो क्षेत्रमै भव्य छ ।।
।।११।।
हेप्छन् आज सुदूरलाई सबले – विर्सी महत्ता सबै ।
सौताने व्यवहार पीडित छ है – भू–भाग डोटी अँझै ।।
मेरो खप्तड–मालिका शिखरको – भू–भाग हो पावन ।
डोटी दूर–सुदूरका धरणिको – आनन्द बृन्दावन !!
।।१२।।