गणेश मौनी,भाद्र ४, काठमाडौँ: बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) लाई देश व्यापी रूपमा नयाँ उचाइका साथ सञ्चालन गर्न आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।
सिजपले सोमबार काठमाण्डौमा आयोजना गरेको संस्थाको २२ औँ स्थापना दिवस र आठौँ वार्षिक साधारण सभाको उद्घाटन समारोह कार्यक्रमका सहभागीहरूले उक्त कुरामा जोड दिएका थिए ।
द्वन्द्वकालमा बाल बालिकाले भोग्नु परेको समस्या अनि डोटीको शिखर नगरपालिका वडा नम्बर ४ मुडभरामा रहेको शारदा माध्यामीक विद्यालयमा २०६० सालमा माओवादीको तत्कालीन सशस्त्र समूहले कार्यक्रम गरिरहँदा एक्कासि सरकारी सेनाले आक्रमण गरेपछि विद्यार्थी सहित १० जनाको मृत्यु भएको थियो । सो घटनापछि मानव अधिकारका निम्ति सक्रिय नागरिक समाजका व्यक्तिहरू घटनास्थलमै गई अध्ययन गर्दै बालबालिकालाई शान्ति क्षेत्र घोषणा गरिनुपर्ने निष्कर्षका साथ अभियानको सुरुवात गरिएको कार्यक्रममा बोल्ने अभियन्ताहरूले बताएका छन् ।
१० वर्षे द्वन्द्व कालमा हजारौँ बालबालिकाहरूको मृत्यु हुनुका साथै केही बालबालिकाहरू अङ्गभङ्ग भएका थिए । बालबालिकाका सम्पूर्ण अधिकारका निम्ति तत्कालीन समयमा यसलाई रोक्न ‘बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान’को सुरुवात गरी संस्थागत रूपमा काम गरिरहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अभियन्ताहरूले अहिले बम र गोली नपड्किए पनि द्वन्द्वको आयाम फरक मात्र भएकाले त्यसले बालबालिकालाई असर पारिरहेको औँल्याए । १० वर्षे द्वन्द्व कालमा बाल उमेरमा रहेकाहरू अहिले युवा भइसकेको तर द्वन्द्वको प्रभाव अहिले पनि खेप्नु पर्ने स्थिति रहेकोले यस अभियानलाई देशव्यापी रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताए ।
नेपालमा सशस्त्र काल १० वर्ष रहे पनि सङ्क्रमण काल १८ वर्ष बितेको संस्थाका संस्थापक तथा कार्यक्रमका प्रमुख अतिथि गौरी प्रधानले बताए । उनले भने, ‘द्वन्द्वलाई नयाँ शिराबाट अध्ययन गरेर न्याय दिलाउनु पर्छ ।’ प्रत्येक द्वन्द्वले पहिलो असर बालबालिकालाई पार्ने हुँदा अब उनीहरूलाई शान्ति क्षेत्र बनाइराख्न नागरिक समाज सक्रिय हुन आवश्यक रहेको अभियानलाई देश व्यापी रूपमा सञ्चालन गर्नुका साथै सरकारका तीन वटै तह सङ्ग समन्वय बढाएर काम गर्न सुझाव समेत दिएका थिए ।
सिजपले सञ्चालन गरेका हरेक क्रियाकलाप र अभियानलाई नेपाल सरकाले सहकार्यका साथ पूर्ण सहयोग गर्ने नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उप सचिव विमला पौडेलले बताइन् । उनले अभियानलाई देश व्यापी रूपमा बिस्तार गर्न आवश्यक रहेको समेत बताइन् ।
सिजपले सञ्चालन गर्ने हरेक क्रियाकलापमा सबैको सहयोग रहेको सिजपकी अध्यक्ष मिना शर्माले बताइन् । अभियानलाई नयाँ सिराबाट सञ्चालन गर्न नेपाल सरकार र अन्य नागरिक समाज लगायत सबैको सहयोग आवश्यक रहेको समेत बताइन् ।
कार्यक्रममा आर्थिक वर्ष २०८०।८१ को आर्थिक प्रतिवेदन सिजपका कोषाध्यक्ष हेमराज जोशीले र संस्थागत प्रतिवेदन महासचिव तिलोत्तमा पौडेलले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा निबर्तमान अध्यक्ष, पूर्व अध्यक्ष, सल्लाहकार र सबै सदस्य संस्थाका पार्षद् हरूको सहभागिता रहेको थियो ।