फणेन्द्र साउँद
केही दिन अगाडि फेसबुकका भित्ताहरूमा डोटेली भाषाका सन्दर्भमा विभिन्न खाले टिकाटिप्पणी देखिए । टिकाटिप्पणीको कारण थियो रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट बैतडेली भाषाको समाचार प्रसारण हुनु । रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट बैतडेली भाषामा समाचार प्रसारण भए पछि सामाजिक सञ्जाल दुई धारमा विभाजन भएको देखियो । भाषा समाजको सम्पति हो । समाजको सम्पत्तिलाई जोगाउनु राज्यको दायित्व हो । पछिल्लो समय राज्यले भाषाको सम्मान गर्दै नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषा भनेको विषय उपयुक्त भएता पनि केही व्यक्तिहरूले भाषा वैज्ञानिक आधार बिना पहिचानको नाममा भाषिका वा व्यक्ति बोलीलाई नै भाषाका रुपमा लिनु वा चिनाउनुलाई उपयुक्त मान्न सकिन्न । केही व्यक्तिले शक्तिको दुरुपयोग गर्दै निहित स्वार्थ वा पहिचानका नाममा आ–आफ्नो क्षेत्रमा बोलिने भाषिकालाईनै भाषाको दर्जा दिन अग्रसर रहेका छन् । त्यही कारणले गर्दा भाषामा अन्यौलता देखिएको छ । पछिल्लो समयमा यो अन्यौलता डोटेली भाषाका सवालमा पनि देखिएको छ । थप अन्यौलता राज्यका मातहतमा रहेका सञ्चार माध्यमले डोटेली भाषासहित अन्य भाषिकालाई भाषा भनेर समाचार प्रकाशन प्रसारणले सिर्जना गरेको छ ।
डोटेली भाषाका सन्दर्भमा कुरा गर्ने हो भने यसको उत्पत्ति र विकासक्रमलाई हेर्नुपर्छ । डोटेली भाषा भारोपेली परिवारको आर्यली–इरानेली शाखाको आर्यली उपशाखाबाट विकसित भएको संस्कृत–प्राकृत–अपभ्रंश हुँदै जन्मिएको भाषा हो । पहाडी खस भाषाको पहिचान बनाएको तत्कालीन सिञ्जाली तथा सुदूरपश्चिम प्रदेशमा प्रचलित डोटेली भाषाको विकसित रुप नै आजको समृद्ध नेपाली भाषा हो । खस भाषा र डोटेली भाषामा समेत उच्च बोधगम्यता पाइन्छ । नेपाली भाषाका उद्गम मानिएका लिखित प्रमाणहरूमा दैलेखमा भेटिएको दमुपालको १०३८ को अभिलेख,….११५१ को डुम्राकोटमा भेटिएको सङ्ग्राम मल्लको अभिलेख,डडेल्धुरामा १३६९ मा भेटिएको निरयपालको ताम्रपत्र डोटेली भाषाकै उपज हुन् । पृथ्वीनारायण शाहको दिव्योपदेश,भानुभक्तको रामायणमा समेत डोटेली भाषाको प्रभाव रहेको छ । यी आधारलाई हेर्ने हो भने पनि नेपाली भाषाको उत्पति डोटेली भाषाबाटै भएको हो भन्न सकिन्छ ।
डोटेली तथा खस भाषाबाटै नेपाली भाषा विकसित भएको हो । नेपालको संविधान २०७२ मा सबैमातृभाषा राष्ट्रभाषा हुन् भन्ने कुरा प्रष्ट रुपमा लेखिएको छ । संविधानले सबै भाषालाई सम्मान गर्दै समान महत्व दिएको छ ।संवैधानिक तथा नेपालको जनगणना अनुसार हेर्ने हो भने नेपालमा बोलिने सबै राष्ट्रभाषा हुन् । नेपाली भाषाको वर्गीकरण गर्दा भाषाविद् बालकृष्ण पोखरेलले सुदूरपश्चिममा बोलिने भाषालाई ओरपच्छिमा(बाजुरेली,अछामी,बझाङी), मझ पश्छिमा(डोटेली, डडेल्धुरेली) र परपच्छिमा(बैतडेली, दार्चुलेली) गरि ३ भेद देखाएका छन् र नेपाली भाषाका भेद तथा भाषिका हुन् भनेका छन् । भाषा परिवर्तनशील वस्तु हो पोखरेलले सुदूरपश्चिममा बोलिने भाषालाई भाषिका भनेता पनि स्तरीय नेपाली भाषा र यी भाषिका बिच तमाम अन्तर देखिएको वा बोधगम्यताको अभाव रहेकाले सुदूरपश्चिममा बोलिने भाषालाई अब पनि नेपाली भाषाको भाषिकाका रुपमा लिनु उपयुक्त देखिदैन । तर पोखरेलले विभाजन गरेका ओरपच्छिमा मझपश्छिमा र परपच्छिमाबिच बोधगम्यता रही आएकाले प्रत्येक जिल्लामा बोलिने भाषालाई एउटै भाषाको नाम दिनु आवश्यक छ ।
जनगणना २०६८ र नेपालको संविधान २०७२ ले सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएपछि राजनीतिक पहुँच र शक्तिमा रहेकाहरूले यसको दुरुपयोग गरेको पाइन्छ । शक्तिमा भएकाहरूले आ–आफ्नो जिल्लामा बोलिने भाषालाई अगाडि ल्याउनका लागि राज्यका सञ्चार माध्यमलाई प्रयोग गरेको पाइन्छ । केही समय अगाडि गोरखापत्र र रेडियो नेपालले डोटेली भाषा नाम दिएर सामग्री प्रकाशित तथा प्रसारण गर्दैआएको थियो । गोरखापत्रले डोटेली पेज भनेर सञ्चालन गरेको थियो तर त्यस पेजमा बैतडेली,डोटेली,अछामी,बझाङ्गी,डडेल्धुरेली,दार्चुरेली र बाजुरेली भाषामा सामग्री प्रकाशित भएका थिए ।
त्यस्तै रेडियो नेपाल तथा विभिन्न सञ्चार माध्यमले डोटेली भाषाको कार्यक्रम भनी जिल्लागत रुपमा बोलिने भाषिकालाई समेत स्थान दिएर प्रकाशित तथा प्रसारण गरेको पाइन्थ्यो । यसरी विभिन्न भाषामा प्रकाशित भएका सामग्री तथा रचनालाई डोटेली भाषाको नाम दिइएको थियो ।
विगत तीन दशकदेखि महेन्द्रनगरबाट वीरबहादुर चन्द बिश्रामले डोटेली भाषाको गुगुल्डी पत्रिका प्रकाशित गर्दै आएका छन् तर उक्त पत्रिकामा प्रायः बैतडेली भाषिकाका रचनाहरू प्रकाशित हुँदै आएका छन् । त्यसैगरी धनगढीबाट ऐनके जोशीले डोटेली भाषाको सुदूर चिनारी पत्रिका प्रकाशितगर्दै आएका छन् । उक्त पत्रिकामा पनि जिल्लागत रुपमा बोलिने भाषिकाका सामग्रीलाई डोटेली भाषा नाम दिएर प्रकाशित भएका छन् । यसरी यी पत्रिकाहरूले पनि जिल्लागत रुपमा बोलिने भाषिकालाई समग्र रुपमा डोटेली भाषाभित्र समावेश गरेको पाइन्छ ।
माथिका घटनाक्रमलाई हेर्ने हो भने हिजोको सांस्कृतिक डोटीलाई आधार मानेर सुदूरपश्चिममा जिल्लागत नामले बोलिने सबै भाषिकालाई डोटेली भाषाका रुपमा लिइएको छ । डोटेली भाषाको समाज भाषिक सर्वेक्षण (सन् २०१४) ले डोटेली, बैतडेली, डडेल्धुराली, दार्चुलेली, बझाङीका बिच उच्च बोधगम्यता रहेकाले डोटेलीलाई भाषा र अन्यलाई डोटेली भाषाका भाषिका मान्न सकिने कुरा देखाएको छ ।
फेब्रुअरी १०, सन् २०१२ मा डोटेली भाषाले अन्तराष्ट्रिय भाषाको मान्यता पनि पाइ सकेको छ ।अन्तराष्ट्रिय भाषाको मान्यता पाइसकेको हुनाले डोटेली भाषालाई सबैको अपनत्व हुने गरी आधिकारिक भाषाका रुपमा विकास गर्नु उपयुक्त हुन्छ ।
कुन भाषालाई आधिकारिक भाषा मान्ने वा के कसरी डोटेली भाषामा एकरुपता ल्याउने भन्ने विषयमा केही मतमतान्तर होलान् तर जिल्लागत रुपले बोलिने सबै भाषिकालाई डोटेली भाषा मान्ने कुरामा सामान्य विवाद देखिए पनि प्रयोग प्रचलनमा भने प्रायःले डोटेली भाषालाई स्वीकार गरेको पाइन्छ । यी जिल्लागत भेदलाई समग्रमा डोटेलीभाषा स्वीकारको पाइन्छ । आधिकारिक डोटेली भाषाको रुप बनाउनका लागि यस क्षेत्रमा चासो राख्ने,लेखक,पत्रकार,शिक्षक प्राध्यापक, सञ्चारकर्मीलगायतका सरोकारवालाले समयमै सचेतताका साथ जागरुक हुनुपर्ने देखिन्छ ।
पछिल्लो समयमा राजनीतिक पहुँच र शक्तिका भरमा राज्यले जिल्लागतरुपमा बोलिने अन्य भाषिकालाई पनि प्राथमिकता दिएर प्रसारण र प्रकाशन गर्न लागेपछि भने विवाद सिर्जना भएको छ । डोटेली भाषालाई स्तरीय भाषाको रुपमा स्थापित गर्ने हो भने हिजोको डोटी राज्यलाई आधार मानेर गर्नुपर्ने हुन्छ । डोटेली भाषालाई भाषाका रुपमा स्थापित गर्न मसिनो किसिमले अध्ययन अनुसन्धान र सरोकार वालासित व्यापक छलफल गर्नुपर्ने हुन्छ । व्यापक छलफल गरी सबैलाई मान्य हुने किसिमले डोटेली भाषालाई भाषाका रुपमा स्थापित गर्नुपर्ने हुन्छ ।
‘यदि आजका दिनमा डोटेली भाषालाई भाषाका रुपमा स्थापित गर्न छोडेर डोटेली भाषालाई खण्डीकृत गरेर आ–आफ्नो जिल्लामा बोलिने जिल्लागत भाषिकालाई नै भाषाको रुपमा स्थापित गर्न लाग्यौ भने भोलिका दिनमा जिल्लागत भाषा पनि खण्डीकृत भएर पालिका तहमा नआउला भन्न सकिन्न ।’ भाषाका सम्बन्धमा देखिएका समस्यालाई समाधान गर्न बनेका राज्यका निकायहरूले पनि भाषामा देखिएका समस्या समाधान गर्नुको साटो झन् समस्या निम्त्याएको पाइन्छ ।
आ–आफ्नो भाषा सबैलाई संरक्षण,संवर्धन र विकास गर्ने अधिकार संविधानले दिएको छ । संविधानले दिएको अधिकार र सम्मानलाई कसैले पनि दुरुपयोग गर्नु हुँदैन । जिल्लागत रुपले बोलिने भाषिकाहरूका क्रियापदमा मात्रै केही फरक भएतापनि समग्र वाक्यमा समानतापाइन्छ । भाषा, भाषिका र व्यक्ति बोली फरक कुरा भएकाले भाषिका वा व्यक्ति बोलीलाई भाषा भनी चिनाउनु उपयुक्त होइन । तसर्थ डोटेली भाषाका सन्दर्भमा जिल्लागत भाषिकालाई शक्ति र राजनीतिक पहुँचका आधारमा भाषा भन्नुभन्दाभाषिक सुझसहित जिल्लागत भाषिकाको अपनत्व हुनेगरी भाषा निर्धारण र संरक्षण गर्नु आजको आवश्यकता हो ।
लेखक : डोटी बहुमुखी क्याम्पस सिलगढीमा प्राध्यापनरत हुनुहुन्छ ।