Sujang

श्रमको कविता खोज्दै जाँदा …

श्रमको कविता खोज्दै जाँदा …
 कविता

डा.नवराज लम्साल

आज एक जना कवि
कविता खोज्न हिँडे,
उनलाई श्रमिकको कविता लेख्नुछ !

बाटामा भेटिए –
दुई बोरा चामल बोकेर आइरहेका भरिया दाइ
कविलाई लाग्यो, भरियाकै कविता लेखूँ
तर कविको प्रश्न पूरा हुँदा नहुँदै भरिया दाइले भने
म अक्षर चिन्दिनँ बाबु
सोरठी नाचेर आएको हुँ गाउँमा
दोहोरी गाउन सक्छु
जिन्दगीको कविता लेख्न
तिमी पनि एकपल्ट भारी बोकेर हेर !

साग बेचिरहेकी बूढी आमाकहाँ पुगे कवि
आमाले भनिन् :
म मान्छेको जिन्दगी बुझ्दिनँ बाबु
मलाई सागको जिन्दगी थाहा छ, काउली हाँसेको थाहा छ
किन वैलिन्छ फूल थाहा छ, किन धमिलिन्छ पानी थाहा छ
म जान्दिनँ योजनाको परिभाषा
जिन्दगी जान्न यो सडक सफा गरेर हेर !

उद्योगहरूमा पुगे कवि
मेशिन चलिरहेथ्यो
प्रशोधन हुँदैथियो उत्पादित वस्तुको
प्याकेट बन्दैथिए, स्टिकर टासिँदैथिए
सयौँको सङ्ख्यामा थिए मजदुर
तर कोही बोलेनन् !
ढोका बोल्यो :
पाले दाइको हातको बाक्लो डाम छ मेरो छातीमा
मलाई पढ !

भित्ताले भन्यो :
धेरैको पसिनाले लत्पतिएको छु म
यी सबै भोकै छन्
अलिकति भोकको कविता लेख
अलिकति भातको कविता लेख !

अलिकति खुलेको झ्यालले भन्यो :
यो बन्द संसारमा मुक्ति थुनिएको छ
मजदुरले देखेनन् कुनै मुक्त आकाश
जाऊ मुक्तिका अक्षरमा श्रमको सुकिलो सपना लेख !

काटिएर मेशिन मुनि परेको
कुनै मजदुरको औँलाले भन्यो :
म मेशिन म्यानले उसको छोरालाई टीका लगाइदिने बूढी औँला हुँ
जाऊ त्यो बालकको निधार मुसारेर आऊ !

प्याकेट प्याकेटमा औँला खेलाइरहेका थिए
श्रमिक महिलाहरू
कोही बोल्न तयार भएनन्
नजिकै माटोमा गाडिएको भ्रुण उठ्यो र भन्यो :
म बलात् फालिएको भ्रुण हुँ
जाऊ मानवअधिकारको घोषणापत्र पढेर आऊ !

यसरी भ्रुण फाल्ने आमा रोइरहेकी छिन्
जाऊ आँसुको कविता लेख !

ट्रेड युनियनको जुलुस थियो बाहिर
र नारा थियो :
खान पुग्ने ज्याला दे
समयमै भुक्तान गर !

अघिअघि नारा लगाउनेको नजिकै पुगे कवि
आवाज अक्षर भएर देखियो
र भन्यो :
कवि यसरी जुलुसमा नआऊ, साहूलाई भेट !

साहूले भने :
मलाई नभेट, ठूला दललाई भेट !
दलदलका मजदुर फाँटलाई भेट !
दलका दरिला मुखियालाई भेट !
………..

कवि फर्किए र भने :
भरिया दाइ
पसिनाको दोहोरी गाऊ
म त्यसैमा जिन्दगी पढ्छु !

आमा मलाई काउलीको विरुवा देऊ
माटो कुल्चेर उठेको
मुस्कानको कविता लेख्छु !

ए उद्योगका श्रमिकहरू हो
पर्ख, एकछिन मेशिन रोक
उत्पादन रोकिएपछि
तिम्रो जिन्दगीको कविता लेख्छु
ज्यालाको कविता लेख्छु !

बजारमा हल्ला चल्यो
भव्य कविता आउँदै छ कविजीको !

एकदिन साहूले बोलाए कविलाई र भने :
कविजी हामीले मजदुर बेच्यौँ
राजनीतिले हामीलाई बेच्यो
हामी श्रमिकको मालिक बन्यौँ
र हामीले अमुकलाई मालिक थापेर
श्रमिकको रगत खाएकै हौँ
कति पैसा लाग्छ ?
मलाई पनि एउटा सुकिलो किताब लेख्नु छ कविजी !

कवि फर्किए, कविता लेख्न भनेर फर्किए
तर अचम्म
कविको झोलामा श्रमिकको कविता होइन
दलको घोषणापत्र रहेछ !
र श्रमिकको महत्वमाथि
साहूले लेखेको भव्य किताब रहेछ !

Salmuni
Leave A Reply

Your email address will not be published.