उत्तीर्ण भएका विद्यार्थीमा ३ दशमलव ६ देखी ३ दशमलव ७३ जिपिए ल्याउने ८ जना, ३ दशमलव २ देखी ३ दशमलव ५९ जिपिए ल्याउने ९२ जना रहेका छन् । त्यस्तै २ दशमलव ८ देखी ३ दशमलव १९ जिपिए ल्याउने दुई सय ४१ जना, २ दशमलव ४ देखी २ दशमलव ७९ जिपिए ल्याउने एक सय १९ जना र २ देखी २ दशमलव ३९ जिपिए ल्याउने १२ जना विद्यार्थी रहेका छन् ।
जिल्लामा सामुदायिक विद्यालयमा छात्र तर्फ सिताराम माद्यामिक विद्यालय उच्चाकोट तथा छात्रा तर्फ झिमे मालिका माद्यामिक विद्यालय वायल र संस्थागत विद्यालयमा छात्र तर्फ सुजङ्ग इङ्लिस बोर्डिङ स्कुल राजपुर र छात्रा तर्फ भागरथी एकेडेमी सिलगढीले उत्कृष्ट नम्बर ल्याएको छ । सिताराम माद्यामिक विद्यालय उच्चाकोटका लक्ष्मीप्रसाद भट्ट र रजनिस रोकायाले समान ३ दशमलव ६७ जिपिए ल्याएका छन् । झिमे मालिकाकी छात्रा निशा बोगटीले ३ दशमलव ५२ जिपिए ल्याउन सफल भएकी छिन् ।
त्यस्तै सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलका महेन्द्र विक्रम धामीले ३ दशमलव ७३ जिपिए ल्याउँदा भागरथी एकेडेमीकी अरुणिमा भण्डारीले ३ दशमलव ५३ जिपिए ल्याएकी छिन् ।
बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनुपर्नेछ ।
७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अङ्क र आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अङ्क ल्याउनुपर्नेछ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अङ्कलाई ग्रेडमा रूपान्तरण गरेर नतिजा प्रकाशन भएको छ ।
सैद्धान्तिकतर्फ ७५ पूर्णाङ्कको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अङ्क नपाएका विद्यार्थीको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख गरिएको छ । र ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् ।
साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अङ्क नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् । यद्यपि दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् ।
दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अङ्क ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।