सिलगढी:इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गत प्रस्तावित खप्तड क्याम्पस डोटीले त्रिभुवन विश्वविद्यालयबाट आङ्गिक क्याम्पसको मान्यता पाएको छ ।
नेपाल सरकारको नीति तथा कार्यक्रम र त्रिभुवन विश्वविद्यालयको योजना अनुसार यही असार १२ गतेका दिन प्रधानमन्त्रीको अध्यक्षतामा बसेको त्रिवि सभाले इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत खप्तड क्याम्पस डोटीलाई आङ्गिक क्याम्पसको रूपमा घोषणा गरेको हो ।
आङ्गिक क्याम्पसको घोषणासँगै सोमबार एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिको भवनमा क्याम्पस परियोजना संयोजकको कार्यालय स्थापना गरिएको छ । परियोजना सहजीकरण समितिका संयोजक एवं दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजी सिंह खड्काको अध्यक्षता तथा समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहको प्रमुख आतिथ्यतामा परियोजनाको ब्यानर टाँसेर कार्यालयको स्थापना गरिएको हो ।
कार्यालय स्थापना कार्यक्रममा बोल्दै समन्वय प्रमुख सिंहले आङ्गिक क्याम्पसको मान्यता पाएसँगै पढाई सञ्चालनका लागि सबैले लाग्नुपर्ने बताए । ‘सबैभन्दा ठुलो चुनौती क्याम्पस सञ्चालनका लागि भौतिक संरचना निर्माण गर्नुपर्ने रहेको छ’ सिंह बताए । तिनै तहका सरकार, राजनीतिक दल, नागरिक समाज लगायतको पूर्ण सहयोगमा मात्रै भौतिक संरचना निर्माणको कार्य सम्भव रहेकाले सबै निकायहरूलाई समेत सहयोगका लागि सिंहले आग्रह गरेका छन् ।
सिलगढी स्थित थाप्लामा क्याम्पसको नाममा रहेको करिब १२५ रोपनी जमिनमा सडक पुर्याउनको लागि नगरपालिकाले ३५ लाखसम्म छुट्याएको र भौतिक संरचना निर्माण लगायतको सहयोगका लागि नगरपालिका पछि नहट्ने नगरप्रमुख खड्काले बताए ।
प्रदशस्तरमै एक मात्र इन्जिनियरिङ क्याम्पस रहेकाले प्रदेश सरकारको समेत पूर्ण सहयोग रहने कुरामा आफू ढुक्क रहेको खड्काले बताए । परियोजना सहजीकरण समितिका संयोजकको नाताले पनि क्याम्पस सञ्चालन तथा विकासका लागि सक्रिय रूपमा लाग्ने र भौतिक संरचना निर्माणका लागि डोटीका सबै पालिकासँग घनिभूत छलफल गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।
क्याम्पसका परियोजना संयोजक एवं प्रस्तावित क्याम्पस प्रमुख रामप्रसाद पौडेले क्याम्पसका भौतिक पूर्वाधार तथा ल्याब लगायत अन्य संरचना निर्माण पश्चात् मात्रै अध्ययन सुरु हुने भएकाले यसको लागि सबैको सहयोग हुनुपर्ने बताए । ‘आङ्गिक क्याम्पसको रूपमा जन्म भयो तथा यसलाई हुर्काउने जिम्मा अब सबैको हुनु पर्दछ’, पौडेलले भने, ‘भौतिक संरचना निर्माणका लागि अहिले साढे चार करोड आएको भए पनि त्यो पर्याप्त छैन ।’
खप्तड क्याम्पसमा सुरुमा सिबिल इन्जिनियर र कम्प्युटर इन्जिनियर पढाइ हुने संयोजक पौडेलले जानकारी दिए । उनले आफू समेत जतिसक्दो चाँडो क्याम्पसमा पढाई सुरु गर्नमा लाग्ने बताए ।