कहिलेकाहीं अनपेक्षित रुपमा कुनै चिनेजानेका साथीभाइ, सहकर्मी, आफन्तको मृत्युको खबर सुन्नुपर्छ । हिजोसम्म ठिकठाक देखिएका, देखभेट भएका, कुराकानी भएका, हाँसीमजाक गरेका, एकसाथ खाना खाएका, एकै ठाउँमा काम गरिरहेका मान्छे अचानक ‘मृत्यु’ भयो भन्दा हाम्रो ओठमुख सुक्छ । आखिर कसरी भयो मृत्यु रु
धेरैजसोको मनमा आउने एउटै उत्तर हो, हृदयघात । बुढाबुढी होस् वा युवा, हृदयघातबाट हुने मृत्युको आँकडा बढ्दो छ । आखिर हृदयघातको जोखिम कसरी हुन्छ रु कसलाई हुन्छ रु के यसको कुनै लक्षण हुन्छ ?
कस्ता व्यक्तिलाई बढी हृदयघातको जोखिम ?
प्रायः दीर्घरोग भएका व्यक्तिमा अचानक हृदयघात हुने जोखिम बढी हुन्छ । जस्तै, मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल जस्ता दीर्घरोग भएकाहरुले एस्प्रिन भन्ने औषधि बोकेर हिंड्नु उचित हुन्छ । हृदयघात लगत्तै यो औषधि खान पाएमा धेरै राहत मिल्छ ।
अत्यधिक धुम्रपान गर्ने व्यक्तिमा पनि यसको जोखिम उत्तिकै बढी हुन्छ । दीर्घरोग नभएका व्यक्ति जसको परिवारमा कसैलाई पहिला नै मुटुरोग छ भने पनि त्यो परिवारको सदस्यमा यसको जटिलता थपिन सक्छ ।
त्यस्तै, महिलाहरुमा रजोनिवृत्ति पछि मात्रै हृदयघातको जोखिम बढी देखिने सम्भावना हुन्छ । महिनावारी सुकिसकेपछि महिलामा पनि पुरुषमा जतिकै हृदयघातको जोखिम हुन्छ । महिनावारीको बेला हर्मोनकोे परिवर्तन भइरहने हुँदा कुनै रोग छैन भने महिलालाई हुँदैन । जब महिनावारी सुक्छ तब भने पुरुषको जस्तै जोखिम हुने गर्छ ।
हृदयघातको कुनै निश्चित समय हुँदैन । जहाँ पनि जहिले पनि हृदयघात हुन सक्छ । त्यसैले यस्तो कुरामा पूर्वसचेतना जरुरी छ । दीर्घरोगीले एसप्रिन नामक औषधि बोकेर हिंड्नु उचित हुन्छ । यस्तो औषधि घरमा पनि किनेर राख्न सकिन्छ ।
हृदयघातअघि देखिने लक्षण
हृदयघातअघि हाम्रो शरीरले केही लक्षण देखाउँछ । खासगरी छातीको मध्यभागमा निकै दबाब महसुस हुन्छ । शरीरमा अचानक पसिना आउँछ । वाकवाकी लाग्छ । चक्कर लागेजस्तो हुन्छ । छाती दुख्छ । ग्यास्ट्रिक हुने, छातीमा भारीपन हुने, अहसज महसुस हुने गर्छ ।
दीर्घरोग नभएका कम उमेरकै व्यक्तिलाई हृदयघातको जोखिम कम हुन्छ । तर हृदयघात नै हुँदैन भनेर ठोकुवा गर्न सकिंदैन । यदि उनीहरु अत्यधिक धुमपान गर्छन्, परिवारमा कसैको हृदयघात भएको छ भने उनीहरु पनि जोखिम वर्गमै पर्छन् । यदि उनीहरुलाई हृदयघात हुँदैछ भने त्यसअघि शरीरमा केही संकेत देखिन्छ । जस्तो कि छाती फुल्ने, स्वाँस्वाँ हुने, चक्कर लाग्ने, असहज हुने ।
हृदयघात भएमा के गर्ने त ?
हृदयघातको कुनै निश्चित समय हुँदैन । जहाँ पनि जहिले पनि हृदयघात हुन सक्छ । त्यसैले यस्तो कुरामा पूर्वसचेतना जरुरी छ । दीर्घरोगीले एसप्रिन नामक औषधि बोकेर हिंड्नु उचित हुन्छ । यस्तो औषधि घरमा पनि किनेर राख्न सकिन्छ । यदि तपाईं उच्च रक्तचाप, मधुमेह, मिर्गौलाका रोगी हुनुहुन्छ भने धेरै सतर्क हुनुपर्छ । यदि छातीमा अचानक असहज भयो, भारीपन महसुस भयो र हृदयघातको शंका लाग्नसाथ यो औषधि चपाउनुपर्छ ।
हृदयघातको शंका लाग्नासाथ आराम गर्नुपर्छ । हृदयघात हुने समयमा शरीरले बढी नै अक्सिजन माग गर्छ । त्यसैले शरीरलाई अक्सिजन बढी चाहिने भएकाले काम नगरी शान्त भएर बस्नुपर्छ ।
हृदयघात व्यक्ति अनुसार फरक हुन्छ ?
हृदयघात व्यक्तिको स्वास्थ्य अवस्था अनुसार फरक(फरक हुन्छ । कसैलाई हृदयघात हुनासाथ तुरुन्त मृत्यु हुन्छ । कसैलाई तत्काल उपचार गर्ने समय पनि रहन्छ । उनीहरु उपचारपछि ठीक हुन्छन् । खासगरी मुटुको कुन भागको नसामा अवरोध भयो र त्यसले मुटुको कति भागलाई असर गरेको छ भन्ने कुराले यसमा निर्भर गर्छ । यदि अवरोध पुगेको नसा खोल्न सकेमा ज्यान बच्छ ।
किन हुन्छ हृदयघात ?
बढ्दो उमेर
५०\६० वर्षको उमेर कटेपछि विशेषगरी पुरुषमा र महिनावारी सुकेका महिलामा यसको सम्भावना उच्च रहन्छ । यद्यपि अस्वस्थकर जीवनशैलीका कारण पछिल्लो समय युवाहरु पनि हृदयरोगको सिकार भइराखेका छन् ।
धुम्रपान
वर्तमान समयमा बढ्दो विलासी जीवन र देखासिकीको रुपमा समेत युवाहरुमा यो लत देखिएको छ । परिणामस्वरूप धुम्रपान गर्ने व्यक्तिको मुटुका नसामा हानि गर्ने र कालान्तरमा यसले पनि हृदयघातलाई बढावा दिन सक्छ ।
तनाव
अहिलेको व्यस्त जीवनशैली, करिअर र अन्य कुराको तनावले मुटुरोगको समस्या बढ्दै गइरहेको छ । यसले पनि हृदयघात निम्त्याउन सक्छ ।
शारीरिक रुपमा निस्क्रिय रहने बानी
एकै ठाउँमा बसिरहने र बसेरै काम गर्ने अहिलेको समयमा व्यायाम पुग्दैन । शारीरिक व्यायामको कमी हुनु पनि हृदयघातको जोखिम बढाउने एउटा कारण हो ।
वंशाणुगत
परिवारका कुनै सदस्यलाई हृदयघात भएको छ भने अरुलाई पनि यस्तो समस्या हुन सक्छ । त्यसकारण घरका अन्य सदस्यले पनि समय(समयमा आफ्नो स्वास्थ्य परीक्षण गराइरहनुपर्छ ।
उच्च रक्तचाप, मधुमेह तथा उच्च कोलेस्टेरोल भएका व्यक्तिमा पनि हृदयघातको जोखिम उत्तिकै रहन्छ ।
हृदयघात हुनबाट बच्न के गर्ने ?
-प्राकृतिक खानेकुरामा जोड दिने, फलफूल, हरियो सागसब्जी बढी खाने, चिनी, नून र चिल्लोको प्रयोग कम गर्ने ।
-नियमित व्यायाम गर्ने ।
-दैनिक आधा घण्टा मात्रै भए पनि व्यायाम गर्ने, यो मुटुका लागि राम्रो हुन्छ ।
-धुम्रपान र मद्यपान स्वास्थ्यका लागि हानिकारक हुन्छ । मुटुको लागि यो झनै घातक हुन्छ । यसैगरी चुरोट पिएको मानिसको छेउमा बस्दा पनि हानिकारक हुन्छ ।
नेपालमा मुटुरोगको उपचार
नेपालमा मुटुसम्बन्धी प्रायः सबै रोगको उपचार सम्भव छ । एनजियोग्राफी, एनजियोप्लास्टी, पेसमेकर जस्ता प्रविधि नेपालमा उपलब्ध छन् । एनजियोग्राफी, एनजियोप्लास्टी मुटुमा जाली राख्ने, खोल्ने र मुटुका ब्लक खोल्ने उपचार पद्धति हो ।
त्यस्तै जन्मजात प्वाल भएका बच्चाको बिना अप्रेसन उपचार गर्ने व्यवस्था नेपालमै छ । बिना अप्रेसन बेहोस नपारी बिरामीको मुटुको चाल ठीक पार्न सकिन्छ । मुटुको चाल सामान्य अवस्थाभन्दा बढी भएमा उक्त समस्यालाई निको पार्न यो प्रविधिको प्रयोगद्वार उपचार गरिन्छ ।
डा.माधव विष्ट विराट मेडिकल कलेज शिक्षण अस्पताल, टंकीसिनुवारी, मोरङका कन्सल्टेन्ट कार्डियोलोजिस्ट हुन् । सिंगापुरस्थित नेसनल हार्ट सेन्टरबाट उनले इन्टरभेन्सल कार्डियोलोजी फेलोसिप गरेका छन् ।