मोहन ठकुल्ला-जिल्ला सदरमुकाम सिलगढीमा रहेको बसपार्क सुनसान भएको धेरै बर्ष भइसकेको छ । बसपार्कमा पार्कीङ्ग हुनुपर्ने गाडीहरु पहलमानसिं स्वार राजमार्ग अन्तर्गत जिल्ला प्रहरी कार्यालय अगाडि सडकमै पार्कीङ्ग हुँदा दुर्घटना हुने सम्भावना उच्च देखिन्छ ।
दिपायल सिलगढी नगरपालिका वडा न ५ मा वि.स २०५४ सालमा निर्माण गरेको बसपार्क २०५५ साल देखि सञ्चालनमा ल्याएको थियो । वि.स २०४९ मा जग्गा खरिद गरी वि.स २०५४ सालमा वडा अध्यक्ष नेत्रप्रसाद जोशीको पालामा रू. ५० हजार वडाको र रू. २२ हजार नगरपालिकाको गरी जम्मा रू ७२ हजारमा निर्माण गरेको थियो । वडा र नगरपालिकाले भविष्यको सपना बोकेर निमाणर् गरिएको उक्त बसपार्क अहिले बच्चाहरूको लागि साँझ बिहान खेलमैदान जस्तै बन्न पुगेको छ । बसपार्कमा पार्कीङ्ग हुनुपर्ने गाडी मुख्य सडक, बजार लगायतका क्षेत्रमा रोकेर राखिएका हुन्छन् । जहाँबाट सवारी साधन छुट्नु पर्ने हो त्यहाँबाट नछुटे पछि यात्रुहरूले समेत गाडी कुर्नको लागि सडकमै बस्नुपर्ने बाध्यता रहेको छ ।
जिल्लाबाट दैनिकरूपमा आवतजावत गर्ने सवारीसाधनहरू पहलमान सिह स्वाँर राजमार्गमा रोकिने गरेका छन् । जिल्ला प्रहरी कार्यालय अगाडिको मुख्य सडकखण्ड, जहाँ दर्जनौ गाडीहरू रोकेर राखिएका हुन्छ । जिल्ला प्रहरी कार्यालय अगाडि गाडीहरू राखेर भिडभाड हुँदा पनि प्रहरी कार्यालयको भने चाँसो देखिदैन् । सरकारी लगानीको सदुपयोग गर्नु र बसपार्कमा राख्नु पर्ने सवारीसाधन मुख्य सडकलाई नै बसपार्क जस्तै बनाउदा दुर्घटनाको जोखिम बढेको स्थानीय बताउछन् ।
सिलगढीमा रहेको बसपार्क निर्माण भएपश्चात १०/१२ वर्ष मात्र सञ्चालनमा आएको भएपनि करिब त्यतिनै बर्ष सञ्चालनमा नआएको भइसकेको छ । सरकारी लगानीको दुरुपयोग भएको स्थानीय नविन श्रेष्ठले बताए । ‘कुनै बेला धेरै चहलपहल हुने बजार बसपार्क सञ्चालन नहुँदा एकान्त बन्न पगेको छ’ स्थानीय व्यापारी गिरी बोगटीले भने, ‘बसपार्क सञ्चालन नहुँदा व्यापार व्यवसायमा समेत मन्दि आउनुका साथै धेरै जसो व्यक्ति पलायन हुने गरेका छन् ।’
स्थानीय प्रभु श्रेष्ठले भने, ‘बाहिरबाट आउने यात्रुहरूले मुख्य सडक खण्डमै राति अलपत्र पर्नु परेको छ ।, सडकमै गाडी कुर्दा यात्रुहरुले सास्ती खेप्नु परेको छ, कुनै बेला निकै चहलपहल देखिने बजारमा आजभोलि मुस्किलले मान्छे भेटिन्छन् ।’ भएको बसपार्क सञ्चालनमा नहुँदा यात्रुहरूलाई कहाँ झर्ने र कहाँ देखि गाडि छुट्छ भन्ने अत्तोपत्तो छैन् उनले बताए । उनले भने, ‘कि त निर्माण गरिएको बसपार्क सञ्चालनमा ल्याउनु पर्यो, यदि हटाउन खोजेकै हो भने अर्को ठाँउमा व्यवस्थित बसपार्क बनाउनु पर्यो ।’
जिल्ला प्रहरी कार्यालय संगैको चेकपोस्ट अगाडि कयौं गाडीहरू पार्कीङ्गमा राखिएका र त्यसैमा अछाम, बाजुरा आउने/जाने गाडीहरु चेकको लागि रोकिंदा सडक जामजस्तै हुने गरेको छ । ‘कुनै समयमा नुन देखि सुन पाउने बसपार्क क्षेत्रमा आजभोली व्यापार अलपत्रमा परेको छ’, स्थानीय व्यापारी दिपेन्द्र केसीले भने, ‘आगामी दिनहरूमा बजारलाई व्यवस्थित, सुविधा सम्पन्न बनाउन नगरपालिका लगायत सम्बन्धित निकायको ध्यान जाओस् ।’
‘नगरपालिकामा ६/७ सरकार फेरिए तर बसपार्क तथा सिलगढी बजारको मुहार फेरिएको छैन’ अर्का व्यापारी बिक्रम केसीले भने, ‘यसमा नगरपालिकाको ठुलो कमजोरी देखिन्छ ।’ उनले भने, ‘सवारीसाधन उचित ठाउँमा व्यवस्थापन गर्न नसक्नु दिपायल सिलगढी नगरपालिका तथा सम्बन्धित निकायको गल्ती देखिन्छ ।’
‘बसपार्क सबैको पायक पर्ने ठाउँमा नभए पनि बसपार्कलाई सञ्चालनमा ल्याउन खोज्दा र मुख्य सडक खण्डमा गाडी रोक्न मनाहि गर्न खोज्दा यातायात व्यावसायीहरू झगडा गर्न खोज्छन्’, दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजिसिं खड्काले भने, ‘यातायात व्यावसायीको मनोमानी र जिल्ला ट्राफिक कार्यालयको गैरजिम्मेवारी पनले उक्त समस्या देखिएको हो ।’ नगरपालिकाले मात्र एक्लै समस्या समाधान गर्न नसक्ने नगरप्रमुख खड्काले बताए । सम्बन्धित निकाय तथा स्थानीय जनताहरूले साथ दिए समस्या समाधान हुने खड्काले बताए ।
उक्त क्षेत्रमा गाडी पार्किङ्ग नगर्नुहोस् भन्दा हामीलाई गाडी रोक्ने ठाउँ देखाइदिनुहोस् भन्ने यातायात व्यावसायीकहरूले जवाफ दिने गरेको ट्राफिक कार्यालय प्रमुख भिम बहादुर बोहराले बताए । नगरपालिकाले पार्किङ बोर्डको व्यावस्था गरी निश्चित पार्किङ क्षेत्र तोक्नु पर्ने र नगरप्रहरीको समेत सवारीसाधनलाई उचित स्थानमा पार्किङ गर्न लगाउने दायित्व रहेको बोहराले बताए । सवारी साधनको व्यवस्थापनका लागि नगरप्रहरी, ट्राफिक प्रहरी, नेपाल प्रहरी लगायत स्थानीयको प्रभावकारी समन्वय हुनुपर्ने उनले बताए ।
शैलेश्वरी यातायात प्रालिका अध्यक्ष गणेश मलासीका अनुसार बसपार्क सबैको पायक पर्ने स्थानमा नभएको र पहिले निर्माण गर्ने व्यक्तिहरूले उचित स्थानमा नबनाएका कारण सञ्चालनमा ल्याउन समस्या भइरहेको बताए ।