

डोटी, जेठ २१ : डोटी जिल्लाका माध्यमिक विद्यालयहरूको कार्यसम्पादन स्तर सामान्य रहेको पाइएको छ। शैक्षिक गुणस्तर परीक्षण केन्द्रको वार्षिक प्रतिवेदन २०८१/०८२ अनुसार डोटीले ५८.५३ प्रतिशत अंक प्राप्त गरेको छ, जुन निर्धारित मापदण्डअनुसार सामान्य स्तरमा पर्दछ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई डोटीको समन्वयमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले बिहिवार सिलगढीमा आयोजना गरेको सञ्चार संस्था एवम् सञ्चारर्कीसँगको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको हो ।
देशभरका पाँच जिल्लामा गरिएको परीक्षणमा डोटीको नतिजा सबैभन्दा कम रहेको छ। प्रतिवेदनअनुसार इलाम ले ६५.१६ प्रतिशत, जुम्लाले ६४.२४ प्रतिशत, बैतडीले ६२.७५ प्रतिशत, जाजरकोटले ६२.३४ प्रतिशत तथा डोटीले ५८.५३ प्रतिशत अंक प्राप्त गरेका छन्।

जिल्लाका नौ स्थानीय तहका ८५ माध्यमिक विद्यालयको परीक्षण गरिएकोमा दुई विद्यालय कमजोर, ७९ विद्यालय सामान्य र चार विद्यालय मध्यम स्तरमा रहेका छन्। उत्तम स्तरमा कुनै विद्यालय पुगेको छैन।
पालिकागत नतिजाअनुसार जोरायल गाउँपालिका ६२.३३ प्रतिशत अंकसहित पहिलो स्थानमा रहेको छ। त्यसपछि शिखर नगरपालिका ६२.२३ प्रतिशत र के.आई. सिंह गाउँपालिका ६१.२० प्रतिशत अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। सबैभन्दा कम अंक पूर्वीचौकी गाउँपालिकाले ५०.०९ प्रतिशत प्राप्त गरेको छ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रका महानिर्देशक जयराम अधिकारी का अनुसार लगानी, प्रक्रिया, उपलब्धि र सेवा प्रदान गरिएका विद्यार्थी सङ्ख्यासम्बन्धी ८९ सूचकका आधारमा परीक्षण गरिएको हो।
कार्यसम्पादन परीक्षणको उद्देश्य विद्यालयका सबल तथा सुधार गर्नुपर्ने पक्ष पहिचान गरी शिक्षण–सिकाइ प्रणालीमा सुधारका लागि प्रमाणमा आधारित सुझाव उपलब्ध गराउनु रहेको केन्द्रले जनाएको छ।

